धनुषा,फागुन २१ धनुषा जिल्लामा भारतीय ब्रान्डको नक्कली चुरोटको कारोबार बढ्दै गएको पाइएको छ। धनौजी गाउँपालिका(स्थित बहुअर्वामा रहेको करण अर्जुन किराना पसल बाट १० प्याकेट नक्कली चुरोट बरामद गरिएको छ भने मिथिला बिहारी नगरपालिकाका विभिन्न किराना पसलहरूमा सयौं बट्टा नक्कली चुरोट खुलेआम बिक्री भइरहेको पाइएको छ।
आज सुर्या चुरोटका कर्मचारी, प्रहरी र पत्रकारहरूको संयुक्त टोलीले जनकपुरधाम, तारापट्टी, पुरनदाहा बजार लगायतका क्षेत्रमा अनुगमन गर्दा नक्कली चुरोटको व्यापक कारोबार भइरहेको तथ्य फेला परेको हो। अनुगमनका क्रममा तारापट्टीस्थित एक किराना पसलमा भारतीय बजारमा उत्पादन भएको जस्तै देखिने नक्कली खुकुरी चुरोट डब्बा बरामद गरिएको छ।
अनुगमन टोलीको उपस्थितिको खबर फैलिएपछि स्थानीय व्यापारीहरूले सटर बन्द गरी भागेका छन्। प्रहरीका अनुसार, अवैध रूपमा नक्कली चुरोटको कारोबार गर्नेहरूमाथि कडा निगरानी राखिनेछ भने दोषीहरूमाथि कानुनी कारबाही अघि बढाइनेछ।
स्थानीय व्यापारी तथा उपभोक्ताहरूले यस्ता नक्कली तथा अवैध सामानको कारोबार रोक्न सुरक्षा निकायले थप कडाइ गर्नुपर्ने माग गरेका छन्।




