धनुषाको मिथिला विहारी नगरपालिका वडा न.२ स्थित कल्चर भिलेज मिथिलेश्वर मौवाहीमा सर्प उद्धार तथा व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। पाचदिने तालिममा सर्पसँग सुरक्षित व्यवहार गर्ने, तिनको उद्धार गर्ने, र मानव-सर्प द्वन्द्वलाई न्यूनिकरण गर्ने ज्ञान तथा सीप प्रदान गरियो।
तालिमको समापन कार्यक्रममा शवडिभिजन बन कार्यालय धनुषाधामका वन अधिकृत शंकरनारायण झा, सशस्त्र प्रहरी बेस सर्साका सशस्त्र प्रहरी निरीक्षक कृष्ण भण्डारी, र मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
तालिममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, र विभिन्न निकायका १७ जना सहभागी भएका थिए। सहभागीहरूले विषालु र अविषालु सर्पहरूको पहिचान, सर्प नियन्त्रण तथा उद्धारका विधिहरू, र स्थानीय समुदायलाई सर्पसम्बन्धी जनचेतना फैलाउने उपायहरू सिकेका छन्।
यो तालिमले वन्यजन्तु संरक्षणमा थप योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, मानव-सर्प द्वन्द्वको जोखिमलाई न्यून गर्न र सर्पहरूको संरक्षणमा प्रभावकारी कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
यस कार्यक्रमको आयोजना डिभिजन वन कार्यालय धनुषाले गरेको हो। सहभागीहरूले तालिमको उपयोगिता तथा यसले समुदायमा पुर्याउने सकारात्मक प्रभावबारे प्रशंसा व्यक्त गरेका छन्।




