रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शहीद सत्य नारायण मेमोरियल कप” क्रिकेट प्रतियोगिता जनकपुरधाममा सुरु

[sharethis-inline-buttons]

जनकपुरधाम, माघ ८
शहीद सत्य नारायण शाह स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित “शहीद सत्य नारायण मेमोरियल कप” प्रथम आमन्त्रित क्रिकेट प्रतियोगिता आज मंगलबारदेखि जनकपुरधाम वडा नं. १६ कपिलेश्वरमा औपचारिक रूपमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन कपिलेश्वरस्थित प्रहरी चौकी नजिकको खेल मैदानमा पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री एवम् नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं. १६ का वडाध्यक्ष रामचन्द्र पंजियारले यहाँका खेलाडीहरूले क्रिकेट खेलमार्फत उत्कृष्ट प्रदर्शन गर्दै भविष्य उज्ज्वल बनाउने विश्वास व्यक्त गरे। उनले युवाहरुलाई कुलतमा लाग्नुको सट्टा खेलकुदमा सक्रिय हुन प्रेरित गर्दै खेलले शारीरिक, मानसिक र अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रीय सदस्य संजय चौधरीले कार्यक्रमको क्रममा पंचायत कालमा बेपत्ता भएका शहीद सत्य नारायण साहलगायतका योद्धाहरुको अवस्थाबारे अझैसम्म स्पष्टता नआउनु दुःखद भएको बताए। उनले शहीदहरूको स्मृतिलाई जोगाउन यस्ता प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने धारणा राखे।
कार्यक्रमलाई सम्बोधन गर्दै विमलेन्द्र निधिले खेलकुदले युवाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउने माध्यम बनेको बताउँदै युवापुस्ताको उज्ज्वल भविष्य सुनिश्चित गर्न खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
खेलको उद्घाटन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप–मेयर किशोरी साह, बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, उद्योग वाणिज्य संघका पदाधिकारी, संचारकर्मी, स्थानीय बुद्धिजीवी तथा अन्य व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता शत्रधन श्रेष्ठले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर