धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८, दिगम्बरपुरमा दुई पक्षीय विवादलाई मिलाउन आयोजित पञ्चायतले थप विवाद निम्त्याएको छ। पञ्चायतको निर्णय अस्वीकार गरेका जयकुमार महतोमाथि उल्टै कुटपिटको प्रयास गरिएको घटना सार्वजनिक भएको छ।
जयकुमार महतोले आफ्नो घर निर्माणका क्रममा शाखा बाटोमा ढुंगा राखेका थिए। यसले छेउमै रहेको रामकुमार महतोको खेतमा जान समस्या भएको भन्दै रामकुमारले गालीगलौज गरेका थिए। विवाद चर्किएपछि रामकुमारले जयकुमारको नाकमा हानेर घाइते बनाएका थिए। जयकुमारको नाकबाट रगत बगेपछि उनले आक्रोशित हुँदै रामकुमारको मोटरसाइकल खसालेर क्षति पुर्याएका थिए।
घटना भएपछिको तेस्रो दिन गाउँमा पञ्चायत बसेको थियो। पञ्चायती निर्णय अनुसार जयकुमारलाई क्षतिपूर्ति तिर्नुपर्ने भनिएको थियो। तर, जयकुमारले पञ्चायतको निर्णय अस्वीकार गरेपछि पञ्चहरु र विपक्षी पक्षले उनीमाथि कुटपिटको प्रयास गरेको आरोप छ।
जयकुमारका अनुसार पञ्चायतले उनलाई दुईआनाको सुन हराएको झुटो आरोप लगाउँदै क्षतिपूर्ति तिर्न दबाब दिएको थियो। “गाउँकै केही व्यक्तिहरुको रोहबरमा पञ्चायत बसेको थियो। तर, मलाई अन्यायपूर्ण रूपमा क्षतिपूर्ति तिर्न भनियो। निर्णयको विरोध गर्दा कुटपिटको प्रयास गरियो,” जयकुमारले बताए।
उनले थपे, “म गाउँमा असुरक्षित महसुस गरिरहेको छु। त्यसैले मैले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सुरक्षा निवेदन दिएको छु।”
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज सोनु कुमार साहले घटना सम्बन्धमा उजुरी प्राप्त भएको र आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए। “गाउँमा बसेका गैरकानुनी पञ्चायतले समस्या थपेको देखिन्छ। यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनेछ,” साहले बताए।
पञ्चायती व्यवस्थालाई कानुनी रूपमा खारेज गरिएको भए पनि गाउँमा विवाद समाधानका नाममा गैरकानुनी पञ्चायत बस्ने क्रम अझै जारी छ। यसले समस्या समाधान गर्नुको सट्टा पीडितलाई थप अन्यायमा पार्ने स्थिति सिर्जना गरिरहेको छ।




