रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मगही भाषाका अभियानीद्वारा मुख्यमन्त्री र शिक्षामन्त्रीको पुतला दहन

[sharethis-inline-buttons]

जनकपुरधाम, माघ १० गते।
मधेश प्रदेश सरकारले प्रस्तुत गरेको भाषा विधेयकको विरोधमा मगही भाषाका अभियानीहरूले जनकपुरधाममा आन्दोलित भएका छन्। अभियानीहरूले विधेयकलाई आफूहरूको मातृभाषा र पहिचानमाथि हमला भएको ठहर गर्दै मुख्यमन्त्री र शिक्षामन्त्री रानी शर्मा तिवारीविरुद्ध प्रदर्शन गरेका छन्।

मगही भाषा अभियानी फुलगेन मगही, बलिराम कापडी, बलदेव साह, श्याम साहलगायतका युवाहरूको नेतृत्वमा आज प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री र शिक्षामन्त्रीको पुतला दहन गरिएको हो। प्रदर्शनकारीहरूले “मगही भाषाको अधिकार सुनिश्चित गर” र “भाषा विधेयक खारेज गर” जस्ता नारा लगाउँदै विधेयकको विरोध जनाए।

अभियानी फुलगेन मगहीले विधेयकले मधेशका स्थानीय भाषाहरूलाई उपेक्षा गर्दै बाह्य भाषाको प्राथमिकता दिएको आरोप लगाए। उनले भने, “मगही भाषा हाम्रो पहिचान हो। यसलाई संरक्षण र संवर्द्धन गर्नु प्रदेश सरकारको दायित्व हो, तर विधेयकले त्यसको ठाडो उल्लंघन गरेको छ।”

प्रदर्शनका क्रममा प्रहरीले सुरक्षाका उपायहरू कडा पारेको थियो। यद्यपि, प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। अभियानीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर