धनुषा, माघ १०— धनुषाधाम नगरपालिकाको सहयोगमा धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित नि:शुल्क आँखा जाँच शिविरमा ४५० जनाले आँखा जाँच गराएका छन्।
शिविरको क्रममा १४६ जनामा मोतियाबिन्दु रोग पत्ता लागेपछि उनीहरूलाई शल्यक्रियाका लागि सगरमाथा चौधरी आँखा अस्पताल, लाहान पठाइएको छ। यस शिविरले धनुषा जिल्लाका स्थानीय बासिन्दाहरूलाई सहज स्वास्थ्य सेवा प्रदान गरेको छ।
नगर प्रमुख बालेश्वर मण्डलले स्वास्थ्य शिविरमा सहभागीहरूले निःशुल्क सेवा पाउँदा खुशी व्यक्त गरेका छन्। यस्ता स्वास्थ्य सेवाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै जनताको स्वास्थ्य प्राथमिकतामा रहेको बताएका छन्।
शिविरको सफल आयोजनाका लागि नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले स्वास्थ्य शाखा प्रमुख हरिनारायण महतो,सहसंयोजक रामकृष्ण यादव,अरुण मण्डल लगाइतकर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक, र अन्य सम्बन्धित पक्षको महत्वपूर्ण योगदान रहेको बताएका हुन् ।




