धनुषा, – धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा ठूलो मात्रामा अवैध सालको काठ नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय धनुषा, शस्त्र प्रहरी, नेपाल प्रहरी, तथा अन्य सरोकारवाला निकायहरूको संयुक्त टोलीले १३८ फिट सालको अवैध काठ बरामद गरेको हो।
डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत शंकर नारायण झाले दिएको जानकारीअनुसार, धनुषाधाम नगरपालिका–२ स्थित सिसमपुर चौकदेखि पूर्वमा रहेको प्रमोद ठाकुरको चिरान मिल र धनुषाधाम नगरपालिका–१ मा रहेका प्रमोद ठाकुरका भाइ तथा बटोही मण्डलको बारीबाट उक्त काठ बरामद गरिएको हो।
संयुक्त टोलीले उक्त स्थानमा छापा मार्दा अवैध रूपमा संकलन तथा सञ्चय गरिएको सालको काठ फेला परेको थियो। अवैध काठ ओसारपसार तथा सञ्चय गर्नेहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
वन अधिकृत झाका अनुसार, अवैध रूपमा काठ कटान तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न नियमित रूपमा निगरानी तथा अनुगमन जारी राखिनेछ।
धनुषा लगायतका क्षेत्रमा अवैध काठ कटान तथा तस्करीका घटनाहरू निरन्तर बढ्दै गएका छन्। यसले वन सम्पदामा गम्भीर असर पार्नुका साथै वातावरणीय सन्तुलन पनि खल्बलिने विज्ञहरूको भनाइ छ। सम्बन्धित निकायहरूले कडाइका साथ कारबाही गरे मात्र यस्ता गतिविधि नियन्त्रणमा ल्याउन सकिने स्थानीय सत्यनारायण यादव बताउँछन्।




