रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

खोलामा मुख्यमन्त्री सिँहको छड्के अनुगमन, अवैध उत्खनन् गर्नेहरू भागाभाग

[sharethis-inline-buttons]

धनुषाधाम, २४ माघ – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ पोर्ताहा क्षेत्रमा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न मध्यरातमा छड्के अनुगमन गरेका छन्।

मुख्यमन्त्री सिँहको नेतृत्वमा बुधबार राति १२ बजेदेखि ३ बजेसम्म सञ्चालन गरिएको छापामारीमा १३ ट्याक्टर, २ बकेट र ५ चालकलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।

नदीजन्य पदार्थको अवैध दोहनले पारिस्थितिकी सन्तुलन खलबलिनुका साथै कृषि भूमि मरुभूमिमा परिणत भइरहेको र सरकारलाई ठूलो आर्थिक घाटा पुगेको गुनासोपछि मुख्यमन्त्री सिँह स्वयम् अनुगमनमा पुगेका हुन्। उनले अवैध उत्खनन रोक्न प्रदेश सरकारले कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्रीको टोली पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ वनक्षेत्रभित्रको खोलामा पुग्दा उत्खनन् कार्य जारी थियो। छड्के अनुगमनका क्रममा केही संलग्नहरू अँध्यारोको फाइदा उठाएर भाग्न सफल भए भने नदीजन्य पदार्थ बोकेका ट्याक्टर र उपकरण नियन्त्रणमा लिए।

 

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले अवैध उत्खननबाट सरकारको राजस्व गुम्नुका साथै वातावरणमा गम्भीर असर परिरहेको भन्दै अब यसलाई रोक्न थप कडाइ गरिने बताए।

यसअघि डिभिजन वन कार्यालय, धनुषाले पनि क्रसर उद्योगहरूले रातभर अवैध दोहन गरिरहेको जानकारी पाएपछि जिल्ला समन्वय समितिलाई कानुनी प्रक्रियाअनुसार उत्खनन व्यवस्थापन गर्न आग्रह गरिसकेको थियो।

मुख्यमन्त्री सिँहले अब नदीजन्य पदार्थ उत्खननलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग समन्वय गर्दै कडा अनुगमन गरिने बताए। स्थानीय तह, प्रहरी प्रशासन र सरोकारवाला निकायहरूबीच सहकार्य गरी अवैध उत्खननलाई पूर्ण रूपमा रोक्ने उनको प्रतिवद्धता छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर