धनुषाधाम, फागुन २५ – जनमत पार्टीले धनुषाधाममा सहिद राम मनोहर यादव पार्क निर्माणको तयारी थालेको छ। यसै क्रममा आज पार्टीका वरिष्ठ नेताहरूले सम्भावित स्थानको स्थलगत निरिक्षण गरेका छन्।
जनमत पार्टी राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख जय कान्त राउत, राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहा, नीति तथा योजना आयोग उपाध्यक्ष डा। सोहन साह, वन तथा वातावरण विभाग प्रमुख त्रिभुवन साह, प्रदेश मुख्य न्यायधीवक्ता सुरेन्द्र महतो, धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डल, सिरहा इन्चार्ज विनोद यादव, सप्तरी इन्चार्ज रामगमन साह, विद्यार्थी धनुषा अध्यक्ष बिरेन्द्र यादव, प्रदेश सदस्य दिपेन्द्र तेथवार तथा मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव दिलिप खडका सहितको टोलीले पार्क निर्माणका लागि जग्गाको निरीक्षण गरेको हो।
पार्टीका नेताहरूका अनुसार सहिद राम मनोहर यादवको योगदानको स्मरण गर्दै जनताको लागि पार्क निर्माण गर्न लागिएको हो। यो पार्कले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेर पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ।
निरीक्षणका क्रममा उपस्थित नेताहरूले पार्क निर्माणका लागि आवश्यक पूर्वाधार विकास, वातावरणीय प्रभाव मूल्यांकन तथा कानूनी प्रक्रियाका विषयमा छलफल गरेका थिए। साथै, परियोजना छिटो अघि बढाउन सबै निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलले यस योजनालाई छिटो सम्पन्न गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको भन्दै स्थानीय समुदायलाई समेत सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।




