नागेन्द्र महरा।धनुषाधाम, धनुषा – धनुषाधाममा सरसफाइ अभियान सञ्चालन गर्ने विषयमा आज एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। रेडियो धनुषाका स्टेशन म्यानेजर कमल नयन भट्टराई र शैलेन्द्र यादवको अगुवाइमा आयोजित बैठकमा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
बैठकमा सञ्जीव सिंह, रामधुन कुट्टीका महन्त धनेश्वर यादव, माओवादी केन्द्र धनुषाका संयोजक दीपक यादव, सुनिल कुमार यादव, सुशील कुमार यादव, देवनारायण यादव, पत्रकार मुकेश कुमार ठाकुर, स्पिन कुमार यादव, अनिश मण्डल, रिजिम सेख, शुभाषचन्द्र सिंह, अरुण यादवलगायतको सहभागिता थियो।
बैठकमा विगतमा सञ्चालन भएका सरसफाइ अभियानहरू लामो समय टिक्न नसकेको विषयमा गम्भीर छलफल भएको थियो। यसअघि बजार सरसफाइ, वानगंगा तथा धनुषमन्दिर क्षेत्र संरक्षण, साप्ताहिक सरसफाइ अभियान र धनुषसागर सरसफाइ अभियान सञ्चालन भएका थिए। तर, यी अभियानहरू आर्थिक व्यवस्थापन तथा निरन्तरताको अभावका कारण बीचमै रोकिएको चर्चा भएको थियो।
बैठकका सहभागीहरूले विगतका समस्याबाट सिक्दै यसपटक वृहत् सरसफाइ अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय सरकारसँग सहकार्य गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्ने निष्कर्ष बैठकले निकालेको छ। आगामी दिनमा धनुषाधाम क्षेत्रमा स्वच्छता कायम गर्नका लागि निरन्तर सरसफाइ अभियान सञ्चालन गरिने निर्णय भएको छ।




