धनुषा – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा उज्यालो नेपालका नायक कुलमान घिसिङ धनुषाको धनुषाधाम आउँदै छन्। उनले भोलि शनिबार दिउँसो १ बजे धनुषाधाममा आयोजना हुने विशेष कार्यक्रममा सहभागिता जनाउनेछन्।
धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलको विशेष पहलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा विपन्न वर्गलाई निःशुल्क मिटर वितरण गरिनुका साथै मधेस प्रदेशमै पहिलोपटक धनुषाधाम नगरपालिकालाई चुहावटमुक्त नगरपालिका घोषणा गरिनेछ। धनुषाधाम वितरण केन्द्रका प्रमुख रोशन सिंहका अनुसार कुलमान घिसिङको उपस्थितिले कार्यक्रममा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
विद्युत चुहावट नियन्त्रण र प्रत्येक नागरिकलाई नियमित तथा कानुनी रूपमा विद्युत सेवा उपलब्ध गराउने उद्देश्यसहित आयोजना गरिने यो कार्यक्रम स्थानीयवासीका लागि महत्वपूर्ण मानिएको छ। कुलमान घिसिङको उपस्थितिले विद्युत चुहावट नियन्त्रणको महत्त्व झल्काउने विश्वास गरिएको छ।




