काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले भूमि अध्यादेश खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बाग्मती प्रदेश संयोजक निरा तिम्लसिनाको नेतृत्वमा भएको उक्त प्रदर्शनमा अभियानका राष्ट्रिय सदस्यहरू नन्दकिशोर राम, उपेन्द्र यादव, पप्पु यादव, दिलीप कुशवाहा, अशोक साहसहित दर्जनौँ अभियन्ता सहभागी भएका थिए।
विरोध कार्यक्रममा सहभागीहरूले सरकारले ल्याएको भूमि अध्यादेश चुरे क्षेत्रको वनजंगल मास्ने खतरापूर्ण कदम भएको भन्दै तत्काल खारेज गर्नुपर्ने माग गरेका छन्। उनीहरूले चुरे क्षेत्रको विनाशले पहाडी र तराई क्षेत्रमा गम्भीर वातावरणीय असर पार्ने भएकाले सरकारले यो निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।
विरोध प्रदर्शनमा सहभागी अभियन्ताहरूले चुरे बचाऊ, भविष्य जोगाऊू, वनजंगल मास्न पाइँदैनू जस्ता नारा लगाउँदै सरकारलाई चुरे संरक्षणका लागि गम्भीर बन्न आग्रह गरेका थिए। अभियानले आवश्यक परे अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।




