धनुषा, फागुन १२ – जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रजिअ रामुराज कडरियाले नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालय प्रतिबद्ध रहेको बताएका छन्।
सामाजिक सञ्जालमा सेवा प्रवाहमा भएको आलोचनासम्बन्धी पत्रकार मुकेश कुमार ठाकुरले सोधेको प्रश्नमा प्रजिअ कडरियाले नागरिकलाई सहज सेवा प्रदान गर्न कार्यालय निरन्तर प्रयासरत रहेको स्पष्ट पारे। उनका अनुसार, कतिपय स्थानीय तहमा सेवा प्रवाहको अभावले गर्दा प्रशासन कार्यालयमा चाप बढेको छ।
धेरै स्थानीय तहका मेयर र प्रमुख प्रशासकीय अधिकृतको पहलमा पालिकामै सेवा उपलब्ध गराइँदैछ। तर, केही पालिकाले ध्यान नदिँदा नागरिक कार्यालयमा आउन बाध्य भएका छन्, उनले भने।
हाल नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, र अन्य प्रशासनिक कार्यका लागि लामो लाइनमा बस्नुपर्ने, महिला(पुरुष लाइन व्यवस्थापनको कठिनाइ तथा सेवाग्राहीको झन्झट बढेको गुनासो आइरहेको छ। यसबारेमा कार्यालय गम्भीर रहेको कडरियाले बताए।




