फागुन १८ जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि महोत्तरीको मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिएको छ । मटिहानी नगरमा आइतबारका लागि सार्वजनिक बिदा दिइएको छ । मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने उद्देश्यले सार्वजनिक बिदा दिँदै आएको नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’का साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानीमा विश्राम गर्नेछन् । यात्राको चौथो दिन ‘डोला’ मटिहानी आइपुग्ने मिथिलाको स्थापित परम्परा रहेको छ ।सीता–रामका प्रतिमा राखिएका ‘डोला’साथ यात्री पडावस्थल पुगेपछि सो दिन ती ठाउँमा परिक्रमा मेलाको परम्परा रहँदै आएको छ । आफ्नो ठाउँमा मेला र रात्रि विश्रामका दिन जिल्लाका अन्य चार स्थानीय तह जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र भंगाहा नगरपालिका कार्यालयले पनि यसअघिदेखि नै सार्वजनिक बिदा परम्परागत रुपमा दिँदै आएका छन् ।




