जनकपुरधाम, २०८१ फाल्गुन २२
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा वीरगंजको संयोजकत्वमा जनकपुरधाम उपमहानगरपालिका र मिथिला नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषा, घरेलु तथा साना उद्योग कार्यालय धनुषा तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
अनुगमन टोलीले मिति २०८१ फाल्गुन २० गतेदेखि २२ गतेसम्म जनकपुरधामको मुख्य बजार क्षेत्र तथा मिथिला नगरपालिकाको ढल्केवर र लालगढ बजारमा निगरानी गरेको हो। अनुगमनका क्रममा व्यवसायीहरूले उपभोक्ता हितविपरीत अस्वच्छ खाद्य सामग्री बिक्री गरेको, मूल्य सूची नराखेको, म्याद गुज्रेका सामान बिक्री गरेको तथा तोकिएको मापदण्ड अनुरूप व्यवसाय सञ्चालन नगरेको पाइएको छ।
अनुगमन टोलीले भेटिएका अनियमितता सच्याउन सम्बन्धित व्यवसायीहरूलाई निर्देशन दिएको छ। साथै, तोकिएको मापदण्डअनुसार व्यवसाय नगर्ने तथा उपभोक्तालाई धोका दिने व्यवसायीहरूलाई कानुनी कारबाही गरिने सम्बन्धित निकायले चेतावनी दिएको छ।
अनुगमन निरन्तर रहने तथा उपभोक्ताको सुरक्षाका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ।




