नेकपा (एमाले) ले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि देशभर बृहत मोटरसाइकल र्याली प्रदर्शन गरेको छ। सोही अभियान अन्तर्गत धनुषा जिल्लामा समेत भव्य र्याली निकालिएको छ।
एमाले जिल्ला कार्य समिति धनुषा अध्यक्ष राजकिशोर यादवले जनाए अनुसार जनकपुरधाममा हजारौंको संख्यामा कार्यकर्ताहरू सहभागी भई मोटरसाइकल र्याली प्रदर्शन गरिएको थियो। पार्टीको झन्डा बोकेर सहभागी भएका कार्यकर्ताहरूले जनकपुरधामको मुख्य सडक हुँदै तिरहुतिया गाछीमा भेला भएका थिए।
उक्त र्यालीमा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री उमाशंकर अरगरिया, केन्द्रीय सदस्य सन्जीव झा, धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, प्रदेश सभा सदस्य दिपेन्द्र कुमार ठाकुर, हिरा साह, सुरेन्द्र भण्डारी लगायत हजारौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
यस बृहत् र्यालीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं एमालेको संगठित शक्ति प्रदर्शन गरेको आयोजकहरूको दाबी छ। जनकपुरधामका विभिन्न स्थानहरू हुँदै प्रदर्शन गरिएको उक्त मोटरसाइकल र्यालीलाई स्थानीयहरूले समेत चासोका साथ हेरिरहेका थिए।




