रामनारायण ठाकुर , सिरहा – मधेश प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत चौथो तथा पाँचौँ तहका स्वास्थ्य सेवा कर्मचारीहरूले आफ्नो तह स्तरवृद्धिको माग गर्दै आन्दोलन घोषणा गरेका छन्।
मधेश प्रदेश सरकारद्वारा प्रकाशित स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ को केही प्रावधानका कारण स्वास्थ्य सेवा कर्मचारीहरू २ तहको स्तरवृद्धिबाट बञ्चित भएको भन्दै उनीहरूले प्रदेश सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन्। यसै सन्दर्भमा, स्वास्थ्य सेवा कर्मचारीहरूले आठवटै जिल्लाका प्रतिनिधिहरूको सहभागितामा प्रदेश स्तरीय संघर्ष समिति गठन गरी आफ्ना माग सम्बोधन गराउन पहल गर्दै आएका छन्।
संघर्ष समितिका अनुसार, प्रदेश सरकारका विभिन्न सरोकारवालाहरूले उनीहरूको माग जायज रहेको स्वीकार गरे पनि कानुनी व्यवस्थाका कारण स्तरवृद्धि रोकिएको बताएका छन्। सरकारले ऐन संसोधनको विकल्प नभएको भन्दै आश्वासन दिए पनि हालसम्म ठोस कदम नचालेको संघर्ष समितिको गुनासो छ।
यस विषयमा संघर्ष समितिले मिचैया नगरपालिकाका नगर प्रमुख श्रावण यादव लाई पनि जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेको छ। नगर प्रमुख यादवले स्वास्थ्य सेवा कर्मचारीहरूको मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समस्या समाधानका लागि आफू पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
कर्मचारीहरूले गत चैत ८ गते प्रदेश सभा अगाडि शान्तिपूर्ण धर्ना दिएका थिए। तर, प्रदेश सरकारले माग सम्बोधन नगरेको भन्दै उनीहरूले आगामी चैत २५ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना बस्ने घोषणा गरेका छन्।
संघर्ष समितिले सेवा प्रवाहमा असर नपर्ने गरी आन्दोलन गर्ने प्रतिबद्धता जनाए पनि यो आन्दोलनले केही हदसम्म स्वास्थ्य सेवामा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।




