धनुषा, वैशाख ४ – बुधबार नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा भएको आगलागीको घटनापछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा उच्चस्तरीय निरीक्षण टोली बिहीबार घटनास्थल पुगेको छ।
टोलिले आगलागीबाट सबस्टेसनमा भएको क्षति, त्यसको असर र मर्मत तथा पुनःस्थापनाका सम्भावित उपायहरूको अध्ययन गरेको छ। आगलागीका कारण केही समय विद्युत् आपूर्तिमा समस्या भए पनि वैकल्पिक माध्यमबाट सेवा पुनःस्थापना गरिएको प्राधिकरणले जनाएको छ।
कार्यकारी निर्देशक शाक्यले घटनाको छानबिन तीव्र रूपमा अगाडि बढाइने र भविष्यमा यस्ता घटनाबाट जोगिन थप सतर्कता अपनाइने बताए।
ढल्केबर सबस्टेसन मुलुककै एक महत्वपूर्ण सवस्टेसनमध्ये पर्छ, जसबाट देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति गरिन्छ। आगलागीको कारण अझै स्पष्ट भइनसकेको र विस्तृत रिपोर्टका लागि प्राविधिक टोली खटाइएको प्राधिकरणले जनाएको छ।




