धनुषा, धनुषाधाम – पछिल्लो समय नेपालमा क्रीकेट खेलको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ। देशका विभिन्न गाउँ–गाउँमा बालबालिका र युवाहरु क्रीकेट खेलप्रति आकर्षित भइरहेका छन्। यद्यपि, खेल मैदान र आवश्यक सामग्रीको अभावले ग्रामीण भेगका प्रतिभावान खेलाडीहरूलाई अघि बढ्न कठिनाइ भइरहेको छ।
यस्तो अवस्थाबीच धनुषाधाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा नेकपा एमालेका नगर उपाध्यक्ष कपिल बहादुर बस्नेतले बालबालिकाको मागमा सकारात्मक प्रतिक्रिया दिँदै तुरुन्तै खेलकुद सामग्री वितरण गरेका छन्। श्री कुम्हरा युवा क्लबका अध्यक्ष तथा पत्रकार मुकेश कुमार ठाकुरको पहलमा सामग्री हस्तान्तरण गरिएको हो।
खेलकुद सामग्री वितरण कार्यक्रममा क्लबका उपाध्यक्ष सूर्यदेव मण्डल, स्थानीय समाजसेवी बिल्टु मण्डललगायतको उपस्थिति रहेको थियो। वडाध्यक्ष बस्नेतले आफू सदैव युवा र बालबालिकाको प्रतिभा विकासमा साथ दिने प्रतिबद्धता जनाएका छन्।
क्लब अध्यक्ष ठाकुरले वडाध्यक्षको यो सराहनीय कदमको स्वागत गर्दै हार्दिक धन्यवाद व्यक्त गरे। उनले गाउँस्तरमै खेलकुद प्रवर्द्धन हुने र बालबालिकामा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे।




