रामनारायण ठाकुर, सिरहा — सिरहा जिल्लाको मिर्चैया नगरपालिका–९ निवासी १० वर्षीय बालक लोकेश श्रेष्ठलाई हेल्प मधेसी संस्था मिर्चैयाले रु २३,००० आर्थिक सहयोग प्रदान गरेको छ।
गत पुस १० गते मिर्चैया नगरपालिका–७ स्थित मामाघरबाट साइकलमा घर फर्किंदै गरेका लोकेश श्रेष्ठ सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेको तीव्र गतिका टिपरको हावाको झोकले सडकमा लडेर गम्भीर घाइते भएका थिए। उक्त दुर्घटनामा मस्तिष्कमा गम्भीर चोट लागेका उनलाई गम्भीर अवस्थामा उपचार गरिँदै आएको छ।
आर्थिक रूपमा कठिन अवस्थामा पुगेको पीडित परिवारको पीडा बुझ्दै हेल्प मधेसी संस्था मिर्चैयाले सहयोगको हात अघि बढाएको हो। संस्थाका केन्द्रीय सदस्य रामप्रकाश पासवानको विशेष पहलमा सहयोग रकम हस्तान्तरण गरिएको हो।
शुक्रबार संस्थाका संस्थापक प्रभात महतो, सिरहा अध्यक्ष राम आधार यादव, इन्द्रजित यादव, बस्नेत राय, र श्रवण महरा सहितका सेवकहरू पीडितको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए।
संस्थाले यस्तो प्रकारको सहयोगमार्फत समाजसेवा र मानवीय भावनाको उच्च उदाहरण प्रस्तुत गरेको छ। पीडित परिवारले हेल्प मधेसी संस्था र सहयोगमा संलग्न सबै मनकारी व्यक्तिहरू प्रति गहिरो आभार प्रकट गरेका छन्।




