नागेन्द्र महरा,धनुषा बैशाख २०
मधेस प्रदेश अन्तर्गत धनुषा जिल्लाको ऐतिहासिक, धार्मिक तथा तिर्थ स्थल धनुषाधामस्थित धनुष मन्दिरको सौर्न्दर्यकरण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।
वर्षायाममा मन्दिर परिसरमा पानी जम्ने तथा फोहोरका समस्या समाधान गर्न हाल अन्डरग्राउन्ड नाला निर्माणको काम भइरहेको छ। उक्त कार्य इन्जिनियर मनोज कुमार यादवको प्राविधिक नेतृत्वमा सम्पन्न भइरहेको छ। उनका अनुसार नालासहितको समग्र निकास प्रणाली मन्दिरको स्वच्छता र व्यवस्थापन सुधार गर्न मद्दत गर्नेछ।
त्यस्तैगरी, धनुषाधाम बजार क्षेत्रमा पर्ने सडकका डिभाइडरहरूको स्तरउन्नति, मर्मत तथा रङरोगन कार्यको समेत थालनी भएको छ। नगर प्रमुख बालेश्वर मण्डलको विशेष अग्रसरतामा यो योजना अघि बढाइएको जनाइएको छ।
धनुष मन्दिर क्षेत्रको विकाससँगै धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। स्थानीयवासी तथा श्रद्धालुहरूले यस पहललाई सकारात्मक रूपमा लिएको बताएका छन्।





