सिरहा, रामनारायण ठाकुर — सिरहाको मिर्चैया नगरपालिका–५ स्थित थानाचोकमा आइतबार दिउँसो एक अनियन्त्रित ट्र्याक्टर सैलुन पसलमा ठोक्किँदा चारवटा मोटरसाइकलमा क्षति पुगेको छ।
ज १ त ३५२३ नम्बरको ट्र्याक्टर मिर्चैया नगरपालिका–५ मा रहेको पूजा हेयर कटिङ सैलुनअगाडि पार्किङ गरिएको मोटरसाइकलहरूमा ठोक्किएर सैलुनको अगाडिपट्टिको पिलरमा गएर रोकिएको हो।
दुर्घटनामा स ५ प ७३६४, स ७ प ४६८, म.प्र.०१–००४ प ४०८७ र स ३ प ७३०६ नम्बरका चारवटा मोटरसाइकलमा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। तीमध्ये एक मोटरसाइकल सैलुनमा कपाल काटाउन आएका ग्राहकको रहेको बताइएको छ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन। ट्र्याक्टरको अगाडिको इन्जिनसमेत बाङ्गिएको छ।
ट्र्याक्टर चालक राम रतन मोचिका छोरा, कल्याणपुर नगरपालिका–८ मझौँका अन्दाजी ३५ वर्षीय उद्गार मोचिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनी सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।
उक्त ट्र्याक्टर उदयपुर जिल्लाको कटारी नगरपालिका निवासी जितेन्द्र शाहको नाममा दर्ता रहेको हो।
इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।




