मधेश प्रदेश धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका – बैरिया बजारदेखि केलहुवा सम्म जोड्ने सडक निर्माण कार्य शुरु भएको छ। यस सडकले गाउँपालिका क्षेत्रका बासिन्दालाई बजार, स्वास्थ्य सेवा, शिक्षा तथा अन्य दैनिक सेवामा पहुँच सहज गराउने अपेक्षा गरिएको छ।
गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बैरिया बजार सम्म सिधा पहुँच हुने भएकाले सम्पूर्ण वडाका नागरिकलाई यो सडक अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ। विशेष गरी कृषक वर्गलाई आफ्ना उत्पादनहरू सजिलै बजारसम्म पुर्याउन सहज हुने हुँदा कृषिमा पनि सकारात्मक प्रभाव पर्नेछ।
सडक निर्माण भएपछि 0 मूल्याङ्कनमा रहेको धेरै जमिन घडेरिमा रूपान्तरण भइ आर्थिक मूल्य बढ्ने र स्थानीय तहमा समग्र विकासलाई टेवा पुग्ने जनाइएको छ। यसले रोजगारी, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार ल्याउने छ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले यो सडक निर्माणमा साथ दिने सम्पूर्ण सहयोगी संस्थाहरू, जनप्रतिनिधि तथा जनसमुदायप्रति आभार व्यक्त गरेका छन्। उनले सडक निर्माणको सम्पूर्ण प्रक्रिया पारदर्शी र गुणस्तरीय बनाउन प्रतिबद्धता जनाएका छन्।
स्थानीय बासिन्दाहरूले समेत सडक निर्माणप्रति खुसी व्यक्त गर्दै यसले गाउँपालिकाको समग्र विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।




