कंचन ठाकुर।जनकपुरधाम, असार १०।
सबैला नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ६४ करोड ४३ लाख ४८ हजार ७७२ को अनुमानित बजेट पारित गर्दै १३औं नगरसभा सम्पन्न गरेको छ। नगर प्रमुख कारी राम यादवको अध्यक्षतामा भएको नगरसभामा बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरिएको हो।
संघीय सरकारबाट राजस्व बाँडफाँड, समानिकरण, सशर्त, विशेष तथा समपुरक अनुदानमार्फत रु. ४९ करोड ७९ लाख ७ हजार ८१२ प्राप्त हुने अनुमान।
प्रदेश सरकारबाट रु. १ करोड ६४ लाख ४० हजार ९६०/आन्तरिक श्रोत मौज्दातसहितस रु. ११ करोड,नगर आम्दानी रु. २ करोड
नगर प्रमुख यादवले अघिल्लो वर्ष सम्पन्न हुन नसकेका योजनाहरूलाई आगामी वर्षमा प्राथमिकताका साथ सम्पन्न गरिने प्रतिबद्धता जनाउँदै भने“नीति तथा कार्यक्रम केवल कागजमा सीमित नहोस् भन्ने हाम्रो प्रयास हुनेछ। कार्यान्वयनमै प्रभावकारी बनाउने व्यवस्था मिलाइनेछ।”
साथै उनले स्थानीय तहलाई कमजोर बनाउने प्रवृत्तिको आलोचना गर्दै भने “स्थानीय सरकार कानुन अनुसार प्रमुख जिल्ला अधिकारीभन्दा माथि हो, तर सानो कुरामा पनि बारम्बार सिडियोलाई गुहार्नुपर्ने स्थिति छ।”
फोहोर व्यवस्थापनमा देखिएको जटिलता र राजनीतिक हस्तक्षेपप्रति कटाक्ष गर्दै उनले थपे“यहाँ कसैको काम सुरु गर्नासाथ मुद्दा हालिन्छ, निषेधाज्ञा आउँछ, अनि भन्छन् विकास भएन।”
नगरसभामा उपप्रमुख रहिमा खातुन, प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतो, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरूको उपस्थिति थियो।
सभामा विभिन्न राजनीतिक दलका नेताहरू—जसमा कांग्रेसका मेयर उम्मेदवार जगत सुन्दर साह, एमालेका राजकिशोर यादव, र जनमतका पि.बी साह लगायतको उपस्थिति पनि उल्लेखनीय रह्यो।




