रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कर्जन्हा नगरपालिकाको पाँच दिने तालिम सम्पन्न, सुशासनका लागि १३ बुंदे प्रतिबद्धता 

[sharethis-inline-buttons]

रामनारायण ठाकुर, सिरहा १७ — कर्जन्हा नगरपालिकाले आयोजना गरेको पाँच दिने कर्मचारी तथा पदाधिकारी लक्षित तालिम मंगलबार सम्पन्न भएको छ। असार १३ गतेदेखि सुरु भई १७ गतेसम्म चलेको तालिममा स्थानीय तहमा सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखी विभिन्न विषयमा सहजीकरण गरिएको थियो।

तालिमको प्रमुख प्रशिक्षक कानुनविद् तथा प्रशासनविद् डा. काशीराज दाहालले स्थानीय सरकार सञ्चालन, पदाधिकारीका अधिकार तथा कर्तव्य, जनप्रतिनिधि–कर्मचारीबीचको समन्वय, कानुन निर्माण प्रक्रिया, सूचना प्राप्तिको हक, पारदर्शिता र सकारात्मक सोचका विषयमा गहन प्रशिक्षण दिए।

तालिमको समापनमा सहभागी जनप्रतिनिधि र कर्मचारीहरूले सुशासन प्रवर्द्धनका लागि १३ बुंदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। प्रतिबद्धतामा कार्यविवरणसहित जिम्मेवारी तोक्ने, कानूनहरूको पुनरावलोकन गर्ने, “एक वडा एक पार्क, एक वडा एक ताल” नीति कार्यान्वयन, योजना निर्माणमा दिगो विकास लक्ष्य समावेश गर्ने, प्रविधिमैत्री र पारदर्शी प्रशासन विकास गर्ने लगायतका विषयहरू समावेश छन्।

नगरप्रमुख भोला प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास, विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, आम नागरिक र कर्मचारीहरूको सक्रिय उपस्थिति थियो।

प्रशिक्षक डा. दाहालले स्थानीय तहमा प्रभावकारी प्रशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वको अभ्यासले मात्र सुशासन सुनिश्चित हुनेमा जोड दिए। तालिमले सहभागीहरूमा दीगो विकासमुखी सोच र उत्तरदायी कार्यशैली विकास गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर