मुकेश कुमार ठाकुर ।जनकपुरधाम, साउन ११ —
लामो समयदेखि तराई–मधेश क्षेत्रमा वर्षा नपर्दा उत्पन्न खडेरी र कृषि संकटलाई ध्यानमा राख्दै जनकपुरधाम नजिकको धार्मिक तथा ऐतिहासिक स्थल धनुषाधामस्थित प्रसिद्ध धनुष मन्दिरमा आज विशेष धार्मिक अनुष्ठानसहित दुग्ध अर्पण गरिएको छ।
धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलको अगुवाइमा सयौं किसानले वर्षाको कामना गर्दै धनुष रहेको मन्दिरमा दूध चढाएका हुन्। विहानैदेखि मन्दिर परिसरमा भक्तजनको भिड रहेको थियो ।
नगर प्रमुख मण्डलले धार्मिक विधिअनुसार पूजा–अर्चना गर्दै वर्षा भई कृषकका खेतबारीमा हरियाली छाओस् भन्ने कामना गरेका थिए। मन्दिरका पुजारी भरतदास वैष्णवका अनुसार, पानी नपर्दा यहाँ दुध चढाउने परम्परा लामो समयदेखि रहिआएको छ। तीन वर्ष पहिले पनि खडेरी परेको बेला दुध अर्पण गरेपछि वर्षा भएको थियो।
साउन महिनाको दोस्रो साता बितिसक्दा पनि वर्षा नहुँदा मधेश प्रदेशका किसान चिन्तित छन्। खेतमा बीउ छरे पनि रोपाइँ हुन सकेको छैन। कतिपय किसानले पम्पिङ सेटको सहायताले रोपाइँ गरे पनि चर्को घामले धानबाली सुक्न थालेको स्थानीय किसान विश्वना यादवले बताए।
कृषि विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार हालसम्म प्रदेशभर जम्मा ३४ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। खडेरीका कारण उत्पादन मात्र होइन, खानेपानीको समेत अभाव देखिन थालेको छ।
धनुष मन्दिर धार्मिक मात्र नभई ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यही स्थानमा भगवान श्रीरामले पिनाकधनुष तोडेको धार्मिक विश्वास रहिआएको छ। यसले गर्दा यहाँ धार्मिक विधिअनुसार वर्षाका लागि सामूहिक प्रार्थना र दुग्ध अर्पणको विशेष महत्व रहँदै आएको छ।
स्थानीयवासीका अनुसार, यस्तो धार्मिक कार्यले प्रकृति र देवता प्रसन्न भई वर्षा हुने विश्वास छ। सामाजिक एकताको प्रतिक बनेको आजको अनुष्ठानले आशा जगाएको छ कि किसानका खेतबारी चाँडै हरियालीले ढाकिने छन्।




