रामनारायण ठाकुर, सिरहा | मङ्गलबार, १३ साउन २०८२
कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा कुमारी यादवले आजदेखि कार्यबाहक मेयरको रूपमा आफ्नो जिम्मेवारी सम्हालेकी छन्।
नगरप्रमुख रामपुकार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले असार ३२ गते १ लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि यादवलाई कार्यबाहक मेयरको जिम्मेवारी दिइएको हो।
स्थानीय शासन ऐनअनुसार, मेयर अनुपस्थित वा अयोग्य ठहरिएमा उपमेयरले कार्यबाहक मेयरको हैसियतमा जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार यादवले अब नगरपालिकाको प्रशासनिक, विकास निर्माण र सेवा प्रवाहका कार्यहरू अघि बढाउनेछिन्।
जिम्मेवारी ग्रहण गर्दै उपमेयर यादवले नगरको विकास, जनसरोकारका विषयहरू र नागरिक सेवामा कुनै अवरोध नआउने गरी प्रभावकारी रूपमा कार्य गर्ने प्रतिबद्धता जनाएकी छिन्।




