काठमाडौं, श्रावण १३, २०८२ — नेपाल पिछडावर्ग (OBC) महासंघको नेतृत्वमा जारी आन्दोलन आज १४९ औं दिनमा प्रवेश गरेको छ। महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरको नेतृत्वमा मिति २०८१ साल फागुन १९ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरू भएको शान्तिपूर्ण आन्दोलन अझै निरन्तर जारी रहेको छ।
आजको दिन आन्दोलनकारीको संयुक्त टोलीले हालै नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनका प्रमुख ६ बुँदे मागहरू तुरुन्त सम्बोधन गर्न आग्रह गरेका छन्। अध्यक्ष ठाकुरले एक हप्ता भित्र मागहरू पूरा नभए आन्दोलनको स्वरूप परिवर्तन गरी कडा दबाबमूलक कार्यक्रमहरू गर्ने चेतावनीसमेत दिएका छन्।
आन्दोलनको मुख्य मागहरूमा पिछडावर्गको पहिचान, सामाजिक न्याय, समान अवसर, र संविधानमा सुनिश्चित हक अधिकारको कार्यान्वयन लगायत विषयहरू रहेका छन्।महासंघले सरकारसँग संवादमार्फत समाधान खोज्ने प्रयास गरिरहेको भए तापनि मागहरू सुनुवाइ नभए जनदबाब बढाउने रणनीति अवलम्बन गर्ने बताएको छ।




