जनकपुरधाम, साउन १६ ।
मधेश प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले मुख्यमन्त्री सतिश कुमार सिंहलाई १० सुत्रीय माग समेटिएको ध्यानाकर्षण पत्र बुझाएका छन्।
पूर्व मुख्यमन्त्री तथा जसपा, नेपाल संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा बुझाइएको सो ध्यानाकर्षणपत्रमा प्रदेशमा व्याप्त जल संकट समाधानका लागि सुदूर दृष्टिकोणसहितका सुझावहरू राखिएका छन्।
मागपत्रमा सुखाग्रस्त क्षेत्रहरूमा तत्काल सिंचाइ सुविधा विस्तार, किसानलाई कृषि ऋणमा छुट, शुद्ध खानेपानीको चरम अभाव झेलिरहेका गाउँ तथा शहरहरूमा खानेपानीको व्यवस्था, चुरे संरक्षणका लागि दीर्घकालीन वैज्ञानिक योजना, गिटी–बालुवा निकासी नियन्त्रण र अवैध क्रसर उद्योग बन्द, भूमिगत सिंचाइको नाममा २ बिघा लालपुर्जा बुझाउने अव्यवहारिकता हटाउने लगायतका विषयहरू उठाइएको जसपा, नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए।
त्यस्तै, मधेश प्रदेशका नदी, नहर, तलावजस्ता सतही सिंचाइका स्रोतहरूको जिर्णोद्धार तथा अधुरा सतही र भूमिगत सिंचाइ योजनाहरूलाई शीघ्र सम्पन्न गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र बुझाउने टोलीमा मधेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, माओवादी केन्द्र संसदीय दलका नेता युवराज भट्टराई, नेकपा एसका नेता कनिष पटेल, राप्रपाकी नेतृ कञ्चन बिच्छा, संघीय समाजवादी पार्टीकी नेतृ विमला अन्सारी, लगायतका नेताहरू सहभागी थिए।




