मा.वि.सोहनी मुजेलियामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न भएको छ।
जनकपुरधाम, मंसिर २३ गते
भागचरण यदव
दलान नेपाल, वार्ड १४ र श्री माध्यमिक विद्यालय सोहनी मुजेलियाको संयुक्त आयोजनामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जनकपुर उपमहानगरपालिका–१४ का वडाअध्यक्ष पुण्य प्रताप यादव रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक भोला यादव ले गर्नु भएको थियो। सो कार्यक्रममा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द् ठाकुर प्रशिक्षकको भूमिकामा रहनु भएको थियो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा विपद्का सम्भावित जोखिमहरूबारे सचेतना जगाउने, आपत्कालीन परिस्थितिमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने व्यवहारिक सीप सिकाउने र विद्यालयस्तरमै जोखिम न्यूनीकरणमा सशक्त भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नु रहेको थियो।
कार्यक्रमका क्रममा भूकम्प, आगलागी, बाढी, डुबान, आँधी–हुरी जस्ता प्राकृतिक विपद्हरू का जोखिमबारे जानकारी दिइयो। साथै विद्यार्थी र शिक्षकहरूलाई सुरक्षात्मक अभ्यास (ड्रिल) गराई व्यवहारिक रूपमा विपद्को समयमा अपनाउनुपर्ने उपायहरूको प्रशिक्षण दिइएको थियो।
प्रमुख अतिथि यादवले कार्यक्रममा बोल्दै यस्तो प्रशिक्षणले विद्यार्थीहरूमा विपद्प्रतिको सचेतना अभिवृद्धि गर्ने र विद्यालयलाई सुरक्षित बनाउने दिशामा ठुलो योगदान पुर्याउने बताउनुभयो। उहाँले विद्यालय समुदायलाई निरन्तर सचेत रहन र यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी ,अभिभावक तथा स्थानीय प्रतिनिधिको समेत उल्लेख्य उपस्थिति रहेको थियो। अन्त्यमा प्रधानाध्यापक यादवले कार्यक्रमको समापन गर्दै दलान नेपालप्रति धन्यवाद ज्ञापन गर्नुभयो र विद्यालयमा आगामी दिनहरूमा पनि यस्ता व्यवहारिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।




