रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

उज्यालो भविष्य अभियानको निःशुल्क ट्युशन कक्षा गंगापुरमा सुरु पाँच सयभन्दा बढी बालबालिकाले पाउँदै आएका छन् शैक्षिक लाभ

[sharethis-inline-buttons]

धनुषा ।
मधेस प्रदेशको धनुषा जिल्लामा सक्रिय उज्यालो भविष्य अभियान अन्तर्गत गणेशमान चारनाथ नगरपालिका–२ गंगापुरमा निःशुल्क ट्युशन कक्षा संचालन गरिएको छ। शिक्षाबाट वञ्चित, दलित–सादा तथा विपन्न समुदायका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यो कक्षा स्थानीय स्तरमा शिक्षा पहुँच विस्तार र सिकाइ सुदृढीकरणमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

गंगापुरमा सुरु गरिएको कक्षाको उद्घाटन अभियानका संरक्षक तथा पत्रकार मुकेश कुमार ठाकुर, स्वतन्त्र युवा अभियानी इन्जिनियर महेश यादव, अभियान सदस्य सरोज यादव, जितेन्द्र सादा लगायत स्थानीय समाजसेवी, अभिभावक तथा सर्वसाधारणको उपस्थितिमा सम्पन्न भएको थियो।

उक्त कक्षामा ५० जना बालबालिकाको सहभागिता रहेको छ, जसमा सादा समुदायका विद्यार्थीहरुको सहभागिता उल्लेखनीय रहेको अभियानले जनाएको छ।
उज्यालो भविष्य अभियान रामपुर, किसानपुर, हंसपुर नगरपालिका, सरस्वतीपुर र गोदार लगायतका क्षेत्रमा सफलतापूर्वक सञ्चालन भइसकेको छ। अभियानमार्फत हालसम्म पाँच सयभन्दा बढी दलित, विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिएको अभियान संयोजक नागेन्द्र महराले जानकारी दिए।

कार्यक्रममा अभिभावकहरूले अभियानप्रति विश्वास व्यक्त गर्दै,
“उज्यालो भविस्य अभियान चलाउने सरहरुले हाम्रो सन्तानको भविष्य भवनमा राखिदिनुभएको छ,”
भनेर आभार प्रकट गरे।

कार्यक्रममा बोल्दै इन्जिनियर महेश यादवले,
“यो अभियानलाई देशभर विस्तार गर्ने हाम्रो लक्ष्य छ,”
भनेर अभियानको दायरा अझ फराकिलो बनाइने बताए।

त्यसैगरी पत्रकार मुकेश कुमार ठाकुरले अभिभावकलाई आफ्ना बालबालिकालाई सरसफाइ गराई कपी–कलमसहित नियमित ट्युशन पठाइदिन आग्रह गर्दै भने,
“अहिलेसम्म यो अभियानले कुनै सरकारी वा संस्थागत सहयोग पाएको छैन। अभियानका सदस्यले आफैं चन्दा संकलन गरेर अघि बढाइरहेका छौं। समाज परिवर्तनका लागि सबैको हातेमालो आवश्यक छ।”

अन्त्यमा अभियान संयोजक नागेन्द्र महराले दलित समुदाय राज्य र राजनीतिक दलबाट वर्षौंदेखि उपेक्षित रहेको उल्लेख गर्दै भने,
“हामीले दलित तथा सीमान्तकृत समुदायलाई शिक्षित बनाउने दृढ अठोटका साथ यो अभियान चलाएका छौं। शिक्षा नै दीर्घकालीन रूपान्तरणको आधार हो।”

स्थानीय तहदेखि ग्रामीण बस्तीका बालबालिकासम्म शिक्षा पुर्‍याउने लक्ष्यका साथ अघि बढेको उज्यालो भविष्य अभियान दिन प्रतिदिन प्रभावकारी रूपमा फैलिँदै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर