२२ फागुन, काठमाडौं — प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले जोरदार प्रदर्शन गरिरहेका छन्। हाल गणना जारी रहेको क्षेत्रमध्ये १०१ क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा छन्, जबकि नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११ र नेपाली कम्युनिस्ट पार्टीका ९ जनाले अग्रता कायम राखेका छन्।
यसअघि कांग्रेस र रास्वपा एक/एक सिटमा विजयी भएका छन्। काठमाडौं–१ बाट रञ्जु दर्शना निर्वाचित भएकी छन् भने मुस्ताङ–१ बाट कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्।
गत विघटित प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो दल थियो, एमाले दोस्रो र नेकपा तेस्रो दल। तर यस पटक रास्वपाले पहिलो हुने गरी अग्रता बनाउँदै गर्दा, परम्परागत तीन दल कांग्रेस, एमाले र नेकपा बराबरी क्षेत्रमा पछि परेको देखिएको छ।
कांग्रेसका अग्रस्थानमा रहेका उम्मेदवारमध्ये ललितपुर–१ का उदय शमशेर जबरा, कपिलवस्तु–३ का अभिषेकप्रताप शाह, दैलेख–१ का बासना थापा, प्युठान–१ का डा. गोविन्दराज पोखरेल, सुर्खेत–१ का विष्णुबहादुर खड्का, रसुवा–१ का मोहन आचार्य, लमजुङ–१ का गमप्रसाद गुरुङ, जाजरकोट–१ का खड्कबहादुर बुढा, सिन्धुपाल्चोक–२ का वंशलाल तामाङ, पाल्पा–२ का हिमालदत्त श्रेष्ठ, पाँचथर–१ का नरेन्द्रकुमार केरुङ रहेका छन्।
एमालेका अग्रस्थानमा रहेका उम्मेदवारहरूमा बाँके–२ का मोहम्मद इश्तियाक राई, रूपन्देही–४ का प्रमोदकुमार यादव, तेह्रथुम–१ का भानुभक्त ढकाल, नवलपुर–२ का तिलबहादुर महत क्षेत्री, सुर्खेत–२ का कुलमणि देवकोटा, डोटी–१ का दीपकबहादुर धामी, सिन्धुली–१ का प्रदीपकुमार कटुवाल क्षेत्री, कैलाली–२ का सूर्यबहादुर थापा र दैलेख–२ का लक्ष्मीप्रसाद पोखरेल रहेका छन्।
नेकपा उम्मेदवारमध्ये अग्रस्थानमा रहेका छन्: रुकुम पूर्व–१ का पुष्पकमल दाहाल प्रचण्ड, कालीकोट–१ का महेन्द्रबहादुर शाही, कपिलवस्तु–२ का बृजेशकुमार गुप्ता, रोल्पा–१ का वर्षमान पुन, कैलाली–३ का वीरमान चौधरी, काभ्रे–१ का दीननाथ गौतम, अछाम–१ का भीमबहादुर रावल, धादिङ–२ का रामबहादुर भण्डारी र सल्यान–१ का रमेशकुमार मल्ल।
गणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने बताइएको छ। रास्वपाले यस पटकको निर्वाचनमा परम्परागत दलहरूसँग प्रतिस्पर्धा गर्दै ठूलो अग्रता बनाएको देखिँदैछ।




