कमला नगरपालिका–९, दुबरकोटमा प्रथम वार्ड स्तरीय टि–२० क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ। खेलको उद्घाटन कार्यक्रम वडाध्यक्ष रणबीर सिंह मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
प्रतियोगितामा जम्मा १६ टिमले सहभागिता जनाएका छन्। देशकै कान्छा वडाध्यक्षका रूपमा परिचित सिंह मण्डलले खेलमार्फत युवालाई सकारात्मक दिशामा अगाडि बढाउने उद्देश्य रहेको बताए।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय नेता अरुण सिंह मण्डलसहित वडाका अन्य समाजसेवी, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतियोगिता सञ्चालन समितिका अनुसार खेल एक हप्ता सम्म सञ्चालन हुने छ र विजेता टिमलाई ट्रफी सहित नगद पुरस्कार प्रदान गरिनेछ।
खेलप्रेमीहरूको उत्साहजनक उपस्थिति र युवाहरूको सक्रिय सहभागिताले दुबरकोटमा खेलकुद क्षेत्रको सम्भावना उजागर गरेको मण्डलले जनाएको छ।




