रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिर्चैयामा खेलकुद मन्त्री लखन दास तत्माद्वारा नारायण जिमको अनुगमन

खेलाडीको समस्या समाधान र खेलकुद विकासमा सहकार्य गर्ने मन्त्रीकाे प्रतिबद्धता
रामनारायण ठाकुर,मिर्चैया । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माले सिरहाको मिर्चैया नगरपालिका–६, कटारी चोकस्थित नारायण जिम एन्ड फिटनेस सेन्टरको अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री तत्माले स्थानीय खेलाडीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै खेलकुद क्षेत्रका सम्भावना, समस्या तथा आगामी योजनाबारे छलफल गर्नुभयो। उहाँले खेलाडीहरूको मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रशंसा गर्दै सकारात्मक सोचका साथ खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुभयो।
मन्त्री तत्मालाई जिम एन्ड फिटनेस सेन्टरका सञ्चालक तथा संस्थापक रामनारायण साह ‘नारायण गुरु’ले फूल तथा गम्छासहित स्वागत गर्नुभएको थियो। कराँते प्रशिक्षकसमेत रहनुभएका साहले जिममा भइरहेको प्रशिक्षण, खेलाडीहरूको अवस्था तथा स्थानीय खेलाडीहरूले भोग्दै आएका समस्याबारे मन्त्रीसमक्ष जानकारी गराउनुभयो।
मन्त्री तत्माले खेलाडीहरूको बीमा, खेलकुद क्षेत्रमा आवश्यक सहयोग तथा प्रदेश सरकारका विभिन्न योजनाबारे जानकारी दिँदै आवश्यक सहयोग र समन्वयका लागि आफूलाई सम्पर्क गर्न सकिने बताउनुभयो। उहाँले खेलाडीहरूसँग आफ्नो सम्पर्क नम्बरसमेत साझा गर्नुभएको थियो।
सो अवसरमा युवा नेता कपिल साहले मिर्चैयामा खेलकुदको विकाससँगै युवाहरूलाई लागूऔषधबाट जोगाउन तथा लागूऔषध नियन्त्रणका लागि समेत विशेष पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अनुगमनका क्रममा राष्ट्रिय स्वर्ण पदक विजेता भरत यादवले पनि मन्त्री तत्मासँग भेटघाट गर्दै खेलाडीहरूको अवस्था, प्रशिक्षण तथा खेलकुद क्षेत्रमा देखिएका समस्याबारे छलफल गर्नुभयो।
त्यसैगरी, ध्रुव नेपाल शिक्षा दान अभियानका सञ्चालक ध्रुव साहसँग पनि मन्त्री तत्माले शिक्षा, खेलकुद तथा युवासँग सम्बन्धित विषयमा छलफल गर्नुभयो। शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउँदै युवाहरूलाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा जोड्नुपर्ने विषयमा सहभागीहरूबीच कुराकानी भएको थियो।
मन्त्री तत्माको अनुगमनपछि स्थानीय खेलाडीहरूमा थप उत्साह, प्रेरणा र आत्मविश्वास बढेको सहभागीहरूले बताएका छन्। खेलाडीका समस्या प्रत्यक्ष रूपमा सुन्ने र आवश्यक सहयोगका लागि समन्वय गर्ने वातावरण बनेकाले अनुगमनलाई सकारात्मक पहलका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर