रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बूढीगण्डकीको बाढीले ९० मिटर लामो क्यान्टिलिभर पुल बगायो, तल्लो चुमको आवागमन ठप्प

२५ असोज, काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–लोक्पास्थित सर्दिभिरमा रहेको ९० मिटर लामो क्यान्टिलिभर पुल बगाएको छ। पुल बगाएसँगै तल्लो चुम क्षेत्रको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आज बिहान आएको बाढीले पुल बगाएपछि गाउँपालिका–६ र ७ का विभिन्न गाउँमा आवतजावत गर्ने बाटो बन्द भएको हो।

‘बाढीले क्यान्टिलिभर पुल बगायो। अब तल्लो चुम जाने बाटोघाटो केही छैन,’ उनले भनिन्, ‘फेरि पहिलेजस्तै काठको भर्‍याङ र डोरीको सहायताले बाटो बनाउनुपर्ने हुन्छ।’

क्यान्टिलिभर पुल बगाएपछि स्थानीयवासीलाई आवतजावत गर्न कठिनाइ हुने भएको छ। पुल पुनर्निर्माण नभएसम्म यस क्षेत्रका बासिन्दाले वैकल्पिक बाटोको समस्या झेल्नुपर्ने देखिएको छ।

सर्दिभिरस्थित उक्त पुल नेपालको दोस्रो क्यान्टिलिभर पुल हो। नेपालको पहिलो क्यान्टिलिभर पुल पनि गोरखाकै केरौँजास्थित यारुबगरमा रहेको छ। बेलायती सहयोगी संस्था डीएफआईडीको सहयोगमा निर्माण गरिएको सर्दिभिरको पुल ९० मिटर लामो थियो।

भीर खोपेर निर्माण गरिने क्यान्टिलिभर पुलले तिब्बतसँग सीमा जोडिएका चुम्तेत र छेकम्पारका गाउँका बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज बनाएको थियो। पुल निर्माण हुनुअघि स्थानीयवासी भीरमा डोरीको सहायताले जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए।

पुल बगेपछि दुर्गम क्षेत्रका बासिन्दाको आवागमन र दैनिक जनजीवनमा थप समस्या उत्पन्न हुने देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर