रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मेरो नाम नखुलोस्, तर उत्खनन रोक्नुपर्छ — धनुषाका एक युवक धनुषा

[sharethis-inline-buttons]

मुकेश कुमार ठाकुर,जेठ २५— धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ४ स्थित जानकी निवास, लक्ष्मिपुर र सर्सा आसपासको क्षेत्रमा खोलाको किनारमा विगत केही समयदेखि निरन्तर अवैध रुपमा ग्राइभेल उत्खनन भैरहेको छ। सो क्षेत्र कृषि उपयोगी जमिनको रुपमा परिचित भए तापनि, अव्यवस्थित र सिफारिस विना भइरहेको उत्खननले बालीयोग्य जमिन विनाश हुँदै गएको छ।

स्थानीय स्रोतका अनुसार उक्त उत्खनन कार्यमा केही राजनीतिक दलका स्थानीय कार्यकर्ता तथा जनप्रतिनिधिको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको छ। मेरो नाम नभन्नुहोस्, तर जसरी पनि यो उत्खनन रोकिनै पर्छ, एक स्थानीय युवाले रेडियो धनुषसँग कुरा गर्दै भने।

उत्खननले बनाएका गहिरा खाल्डाखुल्डीहरूमा गाई, गोरुजस्ता पशुहरू र नजिकैको बस्तीका बालबालिकासमेत डुब्ने खतरा रहेको छ। सुरक्षाको जिम्मेवारी पाएका निकायका कर्मचारीहरू नजिकै हुँदा समेत उत्खनन कार्य नरोकिनुले आम जनतामा आशंका जन्मिएको छ।

स्थानीय तह, विशेषगरी वडा कार्यालयले यस विषयमा जानकारी हुँदाहुँदै पनि कुनै चासो नदेखाएको स्थानीयवासीहरूको गुनासो छ।

यस विषयमा रेडियो धनुषका पत्रकार नागेन्द्र महरा र मुकेश कुमार ठाकुरले स्थलगत रिपोर्टिङ गरी हालको अवस्थालाई उजागर गरेका छन्।

स्थानीय सरकार र सम्बन्धित निकायहरूले यथाशीघ्र अनुगमन गरी कानुनी कारबाही अगाडि बढाउनुपर्ने स्थानीयको माग छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर