रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रधानमन्त्री ओलीलाई पत्रकार महासंघको ज्ञापनपत्र, दोषीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

[sharethis-inline-buttons]

 

नेपाल पत्रकार महासंघ मधेस प्रदेश र नेपाल पत्रकार महासंघ धनुषाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका केही वकिलहरूले पत्रकारमाथि सामूहिक रूपमा आक्रमण गरी कुटपिट गरेको घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरिएको हो।

उक्त घटनामा ६ जना पत्रकार घाइते भएका थिए। वकिलहरूको कुटपिटबाट महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखा सुन्निने चोट लागेको र पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट पुगेको उल्लेख छ। त्यस्तै, उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवलाई समेत लैङ्गिक संवेदनशीलता बेवास्ता गर्दै आपत्तिजनक रूपमा दुर्व्यवहार गरिएको महासंघको दाबी छ।

महासंघका अनुसार, जनकपुरधाममा महासंघको भवन निर्माणका लागि गुठीसँग सम्झौता गरी प्राप्त जग्गामा बार एसोसिएसन जनकपुरले बलपूर्वक अतिक्रमण गर्दै पार्किङ सञ्चालन गरेपछि विवाद सुरु भएको हो। जग्गा रक्षा गर्न पत्रकारहरूले घेरा हाल्ने प्रयास गर्दा वकिलहरूको समूहले आक्रमण गरेको आरोप लगाइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि अहिलेसम्म कसैमाथि कारबाही नभएको ज्ञापनपत्रमा उल्लेख छ। महासंघले आक्रमणकारीलाई कानुनी दायरामा ल्याउन र पीडित पत्रकारलाई न्याय दिलाउन प्रधानमन्त्रीको हस्तक्षेपको माग गरेको छ।

ज्ञापन पत्र बुझाए पश्चात प्रधानमन्त्री ओलीले समुद्घाटन भाषणको क्रममा पत्रकारहरूमाथि आक्रमण गरी कुटपिट गर्ने जोसुकै भएपनि कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्।

आज प्रधानमन्त्री ओली मधेस प्रदेश कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि जनकपुरधाम आएका अवसरमा महासंघका अध्यक्ष श्यामप्रसाद बन्जारा र धनुषा शाखा अध्यक्ष पुरन साहले संयुक्त ज्ञापनपत्र बुझाएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर