भदौ ९ जनकपुरधाम । पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न बनेको ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ को विरोधमा नेपाल पत्रकार महसंघले आन्दोलन घोषणा गरेको छ । दण्ड जरिवानाको प्रावधानसहित विधेयक पास गर्ने तयारी भएपछि महासंघ कोशी प्रदेशले आज सोमबारबाट चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।संविधानको मर्म र भावनाविपरीत तथा पूर्ण प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने अभिप्रायले विधेयक पास गर्ने तयारी भएपछि आन्दोलन सुरु गरेको महासंघले जनाएको छ । २०८१ माघ १८ गते ‘कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ विधेयमा दर्ता भएको थियो ।प्रदेशसभामा छलफलका क्रममा १३ वटा संशोधन दर्ता भएपछि छलफलका लागि प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिमा पठाइएको थियो । मिनी संसदको रुपमा रहेको समितिले कारवाही र जरिवानाको थप प्रावधानहितको प्रतिवेदन शुक्रबारको प्रदेशसभा बैठकमा पेश गरेको छ । प्रदेशसभाको अर्को बैठक भदौ १३ गते बस्दैछ । पत्रकार महसंघ कोशी प्रदेशले भदौ १३ गतेसम्मका लागि चरणवद्ध आन्दोलन घोषणा गरेको हो ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
भदौ ९ गते (आज) । प्रदेशभरिका पत्रकारहरूले आ–आफ्नो सामाजिक सञ्जालमा प्रदेश सरकार र प्रदेशसभालाई विधेयक सच्याउनको निमित्त खबरदारी गर्दै पोस्ट गर्ने ।
९नारा । कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान, खारेज गर’०
भदौ १० गते । मुख्यमन्त्री, विभागीय मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई भेटेर विधेयक सच्याउन ध्यानाकर्षण गराउने ।
भदौ ११ गते । प्रदेशभरिका पत्रकारहरूले आ–आफ्नो जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाउने ।
भदौ १२ गते । नेपाल पत्रकार महासंघ प्रदेश समितिको तर्फबाट मुख्यमन्त्री कार्यालय र जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिने ।
भदौ १३ गते । दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा १ घण्टा धर्ना दिने ।




