भदौ ११ जनकपुरधाम । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज संघीय निजामती सेवा विधेयक २०८० माथि दफावार छलफल हुने भएको छ । त्यसका लागि समितिको बैठक आज बिहान साढे ११ बजे बस्दैछ । गत साउन ६ गते बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यसलाई सभाले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट पास हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी भएको खुलासा भएपछि यो विधेयक राष्ट्रिय सभामा विराचाधीन छ । राष्ट्रिय सभामा पुग्दा संघीय निजामती सेवा विधेयकमा १६ समूहमा ४३ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् । त्यसमाथि आजको विधायन व्यवस्थापन समितिको बैठकमा छलफल गर्ने तयारी छ ।आजै राज्य व्यवस्था सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक समेत बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपि, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छन् ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१र८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक २०८० माथि दफावार छलफल हुने
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




