कात्तिक १८ जनकपुरधाम।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने बाहिरिएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले लामिछानेसँग बयान लिने तयारी गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको यस आयोगले कारागार प्रमुख, सुरक्षाकर्मी लगायतसँग बयान लिइसकेपछि अब घटनाको केन्द्रमा रहेका लामिछानेसँग थप जानकारी लिने भएको हो ।भदौ २४ गते लामिछाने कारागारबाट बाहिरिँदा उनले आफूसँग कारागारले नै दिएको पत्र रहेको दाबी गरेका थिए । तर, आयोगको बयानका क्रममा नख्खु कारागारका प्रमुख सत्यराज जोशीले लामिछानेलाई कुनै पनि पत्र नदिएको बताएका छन् । यसअघि, कारागारबाट निस्किएको केही समयपछि रवि लामिछानेले सामाजिक सञ्जालमार्फत आफू स्वेच्छाले नभई भिड बढेका कारण कारागारले जबरजस्ती बाहिर निकालेको बताएका थिए । उनले आफूले पत्रबिना नजाने अडान राखेको र कारागारले नै पत्र दिएको दाबी गर्दै उक्त पत्र सार्वजनिक समेत गरेका थिए । उनले प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरूलाई समेत आफूलाई नियन्त्रणमा लिन आग्रह गरेको तर उनीहरूले ‘सुरक्षा दिन नसकेको’ भन्दै सुरक्षित बस्न भनेको दाबी गरेका थिए ।




