रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मगर समुदायको मौलिक संस्कृति संरक्षणमा जोड, धनुषामा सांस्कृतिक कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

अर्जुन कार्की, धनुष टिभी। जनकपुरधाम
नेपाल मगर संघ जिल्ला समन्वय समिति धनुषाको आयोजनामा मगर समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले भव्य सांस्कृतिक कार्यक्रम बिरेन्द्रबजारमा सम्पन्न भएको छ। कार्यक्रममा गणेशमान चारनाथ नगरपालिका तथा आसपासका नगरपालिकाबाट हजारौंको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व नेपाल मगर संघ जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष गंगा बलम्पाकी मगरले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष गंगा बहादुर थापा मगर रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारी, समाजसेवी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रमुख अतिथि थापा मगरले मगर समुदाय ऐतिहासिक रूपमा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिने समुदाय भएको उल्लेख गर्दै वर्तमान समयमा पनि राजनीतिक, सामाजिक तथा संवैधानिक निकायमा अझ सक्रिय भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले मगर संस्कृति र एकतालाई मजबुत बनाउन नेपाल मगर संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
कार्यक्रममा मगर समुदायका मौलिक नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति देखाइयो। विशेष आकर्षणका रूपमा द भ्वाइस अफ नेपाल सिजन–४ का प्रतिस्पर्धी टिकाबहादुर मगरको सांगीतिक प्रस्तुति दर्शकले अत्यन्त रुचाएका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य मगर भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्दै समुदायबीच एकता प्रवर्द्धन गर्नु रहेको छ।
नेपाल मगर संघ गणेशमान चारनाथ नगरपालिकाको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रमले मगर समुदायको पहिचान र सांस्कृतिक गौरवलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर