धनुषा निर्वाचन क्षेत्र नम्बर–१ को मत परिणाम घोषणा भइसके पनि निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र नदिएको विषयले विवाद सिर्जना भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव प्रतिनिधि सभा सदस्यमा विजयी भइसके पनि निर्वाचन आयोगले अहिलेसम्म प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ।
नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले सोमबार बिहान जारी गरेको वक्तव्यमा मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा पनि प्रमाणपत्र हस्तान्तरण नगर्नु गम्भीर विषय भएको बताएका छन्।
वक्तव्यमा निर्वाचन आयोगले फागुन १८ गतेको बैठकबाट निर्वाचन ऐन, २०७४ अनुसार रास्वपाका उम्मेदवार किशोरी साह ९कमल०को उम्मेदवारी खारेज गरिसकेको उल्लेख गर्दै आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्थितिमा मतगणना सम्पन्न भएको दाबी गरिएको छ।
मतगणनाबाट नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसके पनि प्रमाणपत्र दिन आलटाल गर्नु निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीत भएको भन्दै नेकपाले चिन्ता व्यक्त गरेको छ।
पार्टीले यस विषयमा निर्वाचन आयोगले यथाशीघ्र स्पष्ट निर्णय गर्नुपर्ने मागसमेत गरेको छ।
प्रमाणपत्र नदिँदा धनुषा–१ को नतिजा विवादमा, नेकपाको निर्वाचन आयोगप्रति आपत्ति
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




