रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

एक रथका दुई पाङ्ग्रा: लक्ष्मण–शोभाको मेहनतले फस्टाएको निशान एग्रो फार्म

[sharethis-inline-buttons]

धनुष टिभी,जनकपुरधाम ।

जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका वडा नं. ६ कृष्णनपुरमा जन्मिएका कृषक लक्ष्मण बहादुर बस्नेत आज आत्मनिर्भर कृषकका रूपमा परिचित छन्। सीमित साधन, संघर्षपूर्ण जीवन र कडा मेहनतको जगमा उभिएको उनको सफलताको कथा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
वि.सं. २०६० सालमा वैवाहिक बन्धनमा बाँधिएपछि परिवारको जीविकोपार्जनका लागि लक्ष्मण बस्नेत श्रीमती शोभा बस्नेतसँगै काठमाडौं पुगे। नेपाल विद्युत प्राधिकरणको सामान्य जागिरबाट आएको आम्दानीले दैनिकी चलाउनसमेत मुस्किल भएपछि, ‘सानो लगानीबाट आत्मनिर्भर बन्न सकिन्छ’ भन्ने सोचसहित श्रीमती शोभाले तरकारी व्यापार सुरु गरिन्।
“काम सानो–ठूलो हुँदैन, इमान्दारीपूर्वक गरे सफलता मिल्छ,” भन्ने विश्वासका साथ सुरु गरिएको व्यापार क्रमशः फस्टाउँदै गयो।
वि.सं. २०६८ सालदेखि काठमाडौंको कालिमाटीमा च्याउको व्यापार सुरु गरेका दम्पतीले सुरुमा अन्य कृषकबाट च्याउ खरिद गरी बिक्री गर्थे। समयको महत्व बुझ्दै दिन–रात मेहनत गरेर कहिले स्वदेशी त कहिले छिमेकी मुलुक भारतबाट समेत च्याउ आयात गरी बजार व्यवस्थापन गरे। औपचारिक तालिम नलिएका भए पनि अनुभवकै भरमा वि.सं. २०७३ सालमा काठमाडौंको चोभारमा थोरै जग्गा भाडामा लिएर आफ्नै च्याउ फार्म स्थापना गरी उत्पादन सुरु गरे।
अनुभव र आत्मविश्वास बढ्दै गएपछि लक्ष्मण बस्नेत आफ्नै गाउँ फर्किए। स्वदेशमै केही गर्नुपर्छ’ भन्ने उद्देश्यसहित हाल उनले बर्दिबासमै करिब ३ विगाहा जमिनमा निशान एग्रो फार्म हाउस सञ्चालन गर्दै आएका छन्। फार्मबाट हाल दैनिक २० देखि २२ क्विन्टलसम्म च्याउ उत्पादन हुँदै आएको छ। यस फार्मले २७–२८ जनालाई दैनिक रोजगारी दिएको छ भने थुप्रैलाई आंशिक रोजगारी पनि सिर्जना गरेको छ।
एक रथका दुई पाङ्ग्राजस्तै, लक्ष्मण बस्नेत बर्दिबासस्थित फार्म सम्हालिरहेका छन् भने उनकी श्रीमती शोभा बस्नेत देशकै मुख्य तरकारी बजार मानिने कालिमाटीमा तरकारी व्यापार गर्दै आएकी छन्।
धनुष टिभीसँग कुरा गर्दै लक्ष्मण बस्नेत भावुक हुँदै भन्छन्,
“हिजोको दुःख सम्झँदा आज पनि आँखा रसाउँछ। मेरी श्रीमती कहिल्यै हार मानिनन्, सधैं हौसला दिइरहिन्। आज म सफल कृषक बन्नुमा सम्पूर्ण श्रेय उनलाई नै दिन चाहन्छु।”
राज्यबाट हालसम्म कुनै विशेष सहयोग नपाएको बताउँदै उनले भने, “यदि राज्यले सहयोग गरे ५० भन्दा बढी युवालाई रोजगारी दिन सक्थें। कृषिमा बजेट त सुनिन्छ, तर पहुँच भएकाले मात्रै अनुदान पाउने अवस्था देखिन्छ।”
उनको सन्देश स्पष्ट छ—विदेश जानुअघि स्वदेशमै लगानी र मेहनत गरौँ।
“विदेशमा गर्ने दुःख यही गरे आफ्नै परिवारसँग बसेर अझ राम्रो आम्दानी गर्न सकिन्छ,” उनी भन्छन्। आज उनी मात्र होइन, उनको फार्ममा काम गर्ने धेरै परिवारको जीवन चलिरहेको छ।
अन्त्यमा लक्ष्मण बस्नेत आफ्नी जीवनसाथीप्रति कृतज्ञता व्यक्त गर्दै भन्छन्,
“आज जे छु, सबै शोभाको देन हो। शोभाजस्ती श्रीमती पाउनु मेरो भाग्य हो।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर