दोलखा — दोलखाको तामाकोशी गाउँपालिका–४ मा विवादका कारण रोकिएको मतदान अझै सुरु हुन सकेको छैन। घटनाका क्रममा हराएका सबै मतपत्र फेला नपरेकाले मतदान पुनः सुरु गर्न ढिलाइ भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।
मतदानका क्रममा दलगत कार्यकर्ताबीच विवाद चर्किएपछि झडप भएको थियो। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गर्दै अवस्था नियन्त्रणमा लिएको थियो। सोही क्रममा करिब ५४/५५ वटा मतपत्र हराएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार हालसम्म ४४ वटा मतपत्र फेला परिसकेको छ भने बाँकी मतपत्रको खोजी जारी रहेको छ। मतदान पुनः सुरु गर्न दलका प्रतिनिधिबीच छलफल भइरहेको उनले जानकारी दिए।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिएको छ। तामाकोशी–४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ र अर्जुन योगीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
तर स्थानीय प्रशासनले भने मतपत्र लुटिन थालेपछि बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको जनाएको छ।




