काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सुरक्षामा खटिएका ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन्।
नेपाली सेनाका सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना सैनिकसँग अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए।
बाढीपछि अन्य सुरक्षा निकायका सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मी पनि सम्पर्कमा नरहेको जनाइएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सञ्चार सम्पर्क अवरुद्ध हुनुका साथै विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुगेकाले सम्पर्कविहीन सुरक्षाकर्मीको अवस्था पत्ता लगाउन कठिनाइ भइरहेको छ।
तपाईको प्रतिक्रिया






