२१ फागुन, जनकपुरधाम ।
विभिन्न आशंका र सुरक्षा चुनौतीका बीच मधेश प्रदेशमा प्रतिनिधिसभा निर्वाचन समग्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। कतै छिटपुट घटना भए पनि अधिकांश मतदान केन्द्रमा मतदाताले उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गरेका छन्।
धनुषा–४ अन्तर्गत मिथिला नगरपालिका–८ स्थित कुसुम बिसौना आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका स्थानीय ललितनारायण सिंहले यसपटकको निर्वाचन विगतको तुलनामा धेरै फरक र भयमुक्त रहेको बताए।
उनले भने, “विगतको चुनावभन्दा यसपालि धेरै फरक रह्यो। हामीले स्वतन्त्र रूपमा मतदान गर्न पायौँ, कुनै दबाब भएन।”
सोही केन्द्रमा मत खसालेकी सीताकुमारी महतोले पनि यसपटक आफ्नो इच्छाअनुसार मत दिन पाएको भन्दै खुसी व्यक्त गरिन्। उनले भनिन्, “यसपालि बल्ल मत दिएजस्तो लाग्यो। अब केही परिवर्तन हुन्छ भन्ने आशा लागेको छ।”
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि घोषणा गरिएको मध्यावधि निर्वाचन भएकाले सुरुमा चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ कि हुँदैन भन्नेमा धेरैलाई शंका थियो। खुला सीमासँग जोडिएको मधेशका आठ जिल्लामा सुरक्षा चुनौती पनि उच्च मानिएको थियो।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागू गरिएको थियो। प्रदेशभर नेपाल प्रहरी र निर्वाचन सुरक्षाकर्मी गरी करिब ४० हजार जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए।
मतदाताहरूले भने यसपटकको निर्वाचन विगतको तुलनामा अझै शान्तिपूर्ण र व्यवस्थित भएको प्रतिक्रिया दिएका छन्। अब मतगणना प्रक्रिया पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा व्यक्त गरिएको छ।




