धनुषा,फागुन २९ – माओवादी केन्द्रका पूर्वमन्त्री तथा मधेस प्रदेशका इन्चार्ज एवं केन्द्रिय उपमहासचिव मातृका प्रसाद यादवले माओवादी जनताको बीचमा रहने पार्टी भएको बताएका छन्।
मिथिला विहारी नगरपालिकाद्वारा आयोजित होली महोत्सव कार्यक्रममा यादवले अहिले पनि माओवादी कार्यकर्ता जनता बीचमा गएर उनीहरूसँग बसेर खानपान गरिरहेको बताए। उनले भने, जनताको छोरा–छोरीले बलिदान दिएर यो व्यवस्था ल्याएका हुन्। आज फेरि पुरानै शासन ब्यवस्था उठाउने कुरा केवल भ्रम मात्र हो।
उनले देशमा भएका केही राजनीतिक घटनाक्रमको उल्लेख गर्दै भने, राजतन्त्र आउँछ भनेर केही भ्रष्टाचारीहरू चुरिफुरी गरिरहेका छन्। तर, राजा फर्किने कुरा केवल अफवाह मात्र हो।
पूर्वमन्त्री यादवले माओवादी विचारधारा अझै जनतामाझ पुर्याउनु पर्ने आवश्यकता रहेको बताए। उनले माओवादी केन्द्र कमजोर हुनुको कारण अन्य दलसँगको सम्झौता भएको बताए। माओवादी बलियो थियो, तर चोरहरूसँग मिलेर बसेर आज कमजोर भएको हो। किनकि चोरसँग बसे चोर जस्तै हुन्छ,उनले भने।
उनले वर्तमान स्थानीय शासन प्रणालीको प्रशंसा गर्दै भने, आज पालिकामा प्रमुख र उपप्रमुख महिला–पुरुष अनिवार्य हुनुपर्छ, प्रहरीसँग डराएर होइन, बरु संगै बसेर नास्ता खान सक्ने अवस्था आएको छ। के पहिले यस्तो सम्भव थियोरुू
यादवले विगतको झल्को दिँदै भने, जनकपुर चुरोट कारखानामा दशौं हजारले रोजगारी पाएका थिए। आज यस्तो अवसर गुमेको छ।
उनले माओवादी कार्यकर्ताहरूलाई आह्वान गर्दै भने, जनता बीचमा जानुस्, माओवादी विचारधारा जनतासम्म पुर्याउनुस्, किनभने माओवादी जनताको पार्टी हो।




