रामनारायण ठाकुर, सिरहा कानुनी रूपमा निजी विद्यालयहरूलाई पाठ्यपुस्तक बिक्री गर्न नपाइने प्रावधान रहे पनि सिरहाको मिर्चैया नगरपालिकास्थित केही निजी विद्यालयहरूले सो प्रावधानको उल्लंघन गर्दै विद्यालय परिसरमै पुस्तक बिक्री गर्दै आएका छन्।
विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई बाहिरी पुस्तक पसलबाट किताब नकिन्न दबाब दिँदै आफूखुसी सेट बनाएर किताब तथा कपीहरू बिक्री गरिरहेका छन्। अभिभावकहरूले किताबमा कुनै छुट नदिई पूर्ण मूल्यमा खरिद गर्न बाध्य पारिएको गुनासो गरेका छन्।
यस किसिमको गतिविधिले नगरका पुस्तक व्यवसायीहरूलाई ठूलो संकटमा पारेको छ। मिर्चैयाका एक स्थानीय व्यवसायीले भने, “विद्यालयहरूले सेट बनाएर किताब र कपी जबर्जस्ती बेचेका कारण हामीजस्ता साना व्यवसायीको व्यापार चौपट भएको छ।”
शिक्षा नियमावलीअनुसार निजी विद्यालयहरूलाई किताब बिक्री गर्न नपाइने स्पष्ट व्यवस्था छ। तर, सम्बन्धित निकायको कमजोर अनुगमनका कारण विद्यालयहरू नियम उल्लंघन गर्दै आएको देखिन्छ। अभिभावकहरू विद्यालय प्रशासनको दबाबमा चुप बस्न बाध्य छन्।
यसबीच, मिर्चैया नगरपालिका शिक्षा शाखाले विद्यालयहरूमा निरीक्षण गर्ने तयारी गरेको जनाएको छ। अनुगमनका क्रममा अवैध रूपमा पाठ्यपुस्तक बिक्री गरेको पाइए कडा कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ।




