रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मुख्यमन्त्री सिँहद्वारा वीरगन्जका दुई क्यासिनो अनुगमन, एक नेपाली पक्राउ

[sharethis-inline-buttons]

जनकपुरधाम, ७ फागुन – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वीरगन्जस्थित दुई क्यासिनोको अनुगमन गरेका छन्। आदर्शनगरस्थित लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनोमा नेपाली नागरिकले जुवा खेलेको सूचनाका आधारमा मुख्यमन्त्री सिँहले अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ। उनलाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ। नेपालमा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएका क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गर्न कानुनी रूपमा प्रतिबन्ध लगाइएको छ।

मुख्यमन्त्री सिँहले अनुगमनका क्रममा क्यासिनोहरूमा प्रवेश व्यवस्थापन प्रणाली व्यवस्थित नभएको बताए। उनले क्यासिनो सञ्चालकहरूलाई पछिल्लो एक महिनाभित्र प्रवेश गरेका व्यक्तिहरूको परिचयपत्रसहितको विवरण, एक साताको सिसिटिभी फुटेज र कर्मचारीहरूको जानकारीसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।

अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले एक नेपाली नागरिकले ४० लाख रुपैयाँभन्दा बढी गुमाएको जानकारी पाएपछि अनुगमन गरिएको बताए। उनले क्यासिनो अत्यन्त संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापनमा कडाइ गरिनुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री सिँहले अनुगमनबाट प्राप्त दस्ताबेजहरूको अध्ययन गरी आवश्यक कानुनी कारबाही अघि बढाइने जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर