धनुषा । चैत २ गते — मधेशका विभिन्न जिल्लामा हिजो र आज क्रमशः होली पर्व मनाइँदै छ। धारापानी, कुम्हरा लगायतका स्थानमा हिजो होली हर्षोल्लासका साथ सम्पन्न भएको छ। स्थानीयहरू परम्परागत शैलीमा रंग र अबीर खेल्दै, एकआपसमा शुभकामना साटासाट गर्दै होली मनाएका छन्।
त्यसैगरी, धनुषाधाम, जनकपुरधाम लगायतका क्षेत्रमा भने आज धुमधामका साथ होली मनाइँदै छ। यहाँ बिहानैदेखि विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम, कीर्तन तथा सामूहिक रूपमा रंग खेल्ने कार्य भइरहेको छ।
मधेशका विभिन्न स्थानमा होली दुई दिन मनाउने परम्परा छ। फागु पूर्णिमाको अघिल्लो दिन उत्तर(पश्चिमी भेगमा होली मनाइन्छ भने धनुषाधाम, जनकपुरधाम लगायतका क्षेत्रहरूमा पूर्णिमाको दिन मुख्य रूपमा होली मनाउने प्रचलन छ।
स्थानीय प्रशासनले शान्ति सुरक्षाको विशेष ध्यान दिँदै होली पर्व सुरक्षित र सभ्य रूपमा मनाउन अनुरोध गरेको छ।




